लाहान। सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ।
सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै मृतकका परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, गणेश यादवको नाममा स्मृति पार्क निर्माण गर्ने, मृतककी बहिनीको निःशुल्क शिक्षा तथा बुबा–आमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने सहमति पनि भएको छ।
गृहमन्त्री सुदन गुरुङले पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको शव परिवारलाई बुझाएर आज अन्त्येष्टि गरिने जानकारी दिएका छन्।
यसअघि परिवारले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएको थियो। सरकार र परिवारबीच सहमति भएपछि अन्त्येष्टिको प्रक्रिया अघि बढाइएको हो।
