नवलपुर। महेन्द्रराजमार्गअन्तर्गत नवलपुरको कावासोतीस्थित फिल्महल चोकमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि स्थानीयले शनिबार बिहान महेन्द्रराजमार्ग अवरुद्ध गरेका छन्।
प्रहरीका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ट्रकले बिहान करिब ७ बजे सडक पार गर्दै गरेका एक वृद्धलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
ट्राफिक प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि आक्रोशित स्थानीयले महेन्द्रराजमार्ग अवरुद्ध गरेपछि पूर्व–पश्चिम आवतजावत गर्ने सवारीसाधन कावासोती क्षेत्रमा रोकिएका छन्। प्रहरीले स्थानीयसँग वार्ता गर्दै सडक सञ्चालन गराउने प्रयास गरिरहेको जनाएको छ।
