काठमाडौं । नेपाल प्रहरीले सामुदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाबाट हालसम्म ३६ जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार साउन १५ गते बेलुका १० बजेसम्म सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सा जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार सबैभन्दा बढी धनुषाबाट १८ जना पक्राउ परेका छन्। त्यसैगरी सर्लाहीबाट ८ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना तथा पर्साबाट १ जनालाई पक्राउ गरिएको विवरण सार्वजनिक गरिएको छ। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
हाल विभिन्न स्थानमा सामाजिक तथा सामुदायिक सद्भाव बिगार्ने गतिविधिप्रति निगरानी बढाइएको र शान्ति–सुरक्षा कायम गर्न सुरक्षा निकाय सक्रिय रहेको प्रहरीले उल्लेख गरेको छ। अफवाह फैलाउने, द्वेषपूर्ण अभिव्यक्ति दिने तथा हिंसा भड्काउने गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ।
नेपाल प्रहरीले सबै नागरिकलाई सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलमा जिम्मेवार व्यवहार गर्न, अपुष्ट सूचना नफैलाउन तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। “विविधतामा एकता, हाम्रो पहिचान” भन्ने सन्देशसहित प्रहरीले सबै समुदायबीच आपसी सहिष्णुता, सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबै पक्षलाई संयमित र जिम्मेवार बन्न अपिल गरेको छ।
