काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कोसी प्रदेश र मधेस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय भएका संवेदनशील घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी भाइचारा तथा राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको हो।
पार्टीले विशेषगरी सुनसरीको कप्तानगञ्जलगायत पूर्वी नेपालका केही क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै कोसी प्रदेश र मधेस प्रदेशका सम्पूर्ण जिल्ला, नगरपालिका, गाउँपालिका, वडा तथा इकाइ समितिहरू, पार्टीका नेता–कार्यकर्ता, समर्थक र आम नागरिकलाई कुनै पनि उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।
विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएकाले साम्प्रदायिक विद्वेष, हिंसा, द्वन्द्व, अफवाह र उत्तेजनात्मक गतिविधिले राष्ट्रिय एकता तथा सामाजिक सद्भावमा गम्भीर असर पार्न सक्ने उल्लेख गरिएको छ। पार्टीले वर्तमान परिस्थितिको समाधान संवाद, आपसी विश्वास, विधिको शासन र सामाजिक सद्भावको सुदृढीकरणबाट मात्र सम्भव हुने बताएको छ।
पार्टीले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा शान्ति–सुरक्षा कायम गर्न नेपाल सरकारसँग माग गरेको छ। साथै, सबै राजनीतिक दल, सामाजिक तथा धार्मिक संघ–संस्था, नागरिक समाज, सञ्चारमाध्यम, युवा, विद्यार्थी तथा सम्पूर्ण नागरिकलाई राष्ट्रिय एकता, शान्ति, सहिष्णुता र आपसी सम्मानको पक्षमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेको छ। जिल्ला समिति महोत्तरीका संयोजक लालेन्द्र कुमार मण्डलद्वारा जारी विज्ञप्तिमा “पहिले हामी नेपाली हौं, हाम्रो साझा पहिचान राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सम्मान हो” भन्दै विभाजनभन्दा सहकार्य, संवाद र भाइचाराको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।
