काठमाट। हिन्दु र मुस्लिम समुदायका धर्मगुरुले संयुक्त अपिल जारी गर्दै सबै नागरिकलाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेका छन्। उनीहरूले धर्मको नाममा हिंसा, घृणा वा सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन अपिल गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भएको छलफलपछि जारी संयुक्त अपिलमा विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिंसात्मक गतिविधि विस्तार गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै सबैलाई संयम अपनाउन आग्रह गरिएको छ।
अपिलमा भनिएको छ, “विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिंसात्मक घटना विस्तार गर्ने प्रयास गरिरहेका बेला हामी सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन आग्रह गर्दछौँ।”
विश्व हिन्दु महासंघ नेपालका रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका खालिद सिद्दिकी, विश्व हिन्दु महासंघका राजुराज फुँयाल तथा अल सलाम सोसाइटीका मौलाना नजरुल हसन फलाहीले संयुक्त विज्ञप्तिमा सुनसरीको देवानगञ्ज, सिरहा तथा मधेश प्रदेशका विभिन्न जिल्लामा भएका घटनाप्रति दुःख व्यक्त गरेका छन्।
उनीहरूले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकता नेपालको पहिचान भएको उल्लेख गर्दै कुनै पनि घटनाले यी मूल्यमा आँच पुग्न नहुने बताएका छन्।
संयुक्त अपिलमार्फत धर्मगुरुले सुनसरी, सिरहा तथा मधेश प्रदेशका अन्य जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गरी कानुनविपरीत कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्न, पीडित परिवारलाई राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
उनीहरूले सबै धर्मको मूल भावना मानव कल्याण, सहिष्णुता, सामाजिक एकता र भाइचारालाई सुदृढ बनाउनु रहेको उल्लेख गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
धर्मगुरुले अन्त्यमा शान्ति, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन तथा कुनै पनि प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न सबैमा आह्वान गरेका छन्।
