भक्तपुर । माननीय रुकेश रञ्जितले शुक्रबार भक्तपुर अस्पतालको स्थलगत निरीक्षण गरी अस्पतालको सेवा प्रवाह, पूर्वाधार, व्यवस्थापन तथा समग्र वस्तुस्थितिबारे जानकारी लिनुभएको छ। निरीक्षणका क्रममा उहाँले अस्पतालका विभिन्न वार्ड तथा सेवा इकाइको अवलोकन गर्नुका साथै अस्पताल प्रशासन र स्वास्थ्यकर्मीसँग सेवा प्रवाहका विषयमा छलफल गर्नुभएको थियो।
छलफलका क्रममा माननीय रञ्जितले अस्पतालमा उपचारका लागि आउने प्रत्येक बिरामीले कुनै पनि कठिनाइबिना सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो। स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकाले त्यसको प्रभावकारी कार्यान्वयनमा सम्बन्धित सबै निकाय जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले अस्पतालमा देखिएका समस्या, आवश्यक स्रोत–साधन तथा सेवा सुधारका लागि आवश्यक विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। यसका लागि आवश्यक नीतिगत, प्रशासनिक तथा व्यावहारिक पहल गर्दै सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरिने उहाँले स्पष्ट पार्नुभयो।
निरीक्षणका क्रममा अस्पताल प्रशासनले स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापन, आधुनिक स्वास्थ्य उपकरण, पूर्वाधार विस्तार तथा सेवाको गुणस्तर अभिवृद्धिमा थप सहयोग आवश्यक रहेको जानकारी गराएको थियो। माननीय रञ्जितले यी विषयलाई गम्भीर रूपमा लिँदै समाधानका लागि आवश्यक पहल गर्ने विश्वास दिलाउनुभयो।
भक्तपुर अस्पतालको सेवा सुधार र नागरिकलाई अझ प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ गरिएको यस निरीक्षणले स्वास्थ्य क्षेत्रप्रति जनप्रतिनिधिको चासो र प्रतिबद्धता झल्काएको छ। स्थानीयवासीले पनि यस्ता अनुगमन तथा पहलले अस्पतालको सेवा थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बन्ने अपेक्षा व्यक्त गरेका छन्।
