काठमाडौं । नेपाल बार एसोसिएसनको मानव अधिकार तथा जनसरोकार समितिले सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक युवाको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै साउन २४ गते भएको घटनामा सिरहा मिर्चैयास्थित तुलसीपुरका करिब २८ वर्षीय गणेश यादवको मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएको उल्लेख गर्दै घटनाप्रति दुःख व्यक्त गरेको हो।
समितिले विज्ञप्तिमार्फत मृतक गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्ने अधिकार, समानता, धार्मिक स्वतन्त्रता तथा सुरक्षाको मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै समितिले कुनै पनि परिस्थितिमा हिंसा तथा अत्यधिक बल प्रयोग मानव अधिकारका आधारभूत सिद्धान्तविपरीत हुने जनाएको छ। आफ्ना माग राखी शान्तिपूर्ण प्रदर्शन गरिरहेका नागरिकमाथि राज्यबाट गरिएको भनिएको बल प्रयोगप्रति समितिले गम्भीर चिन्ता व्यक्त गरेको छ।
समितिले नेपाल सरकार, गृह प्रशासन, नेपाल प्रहरी तथा राष्ट्रिय मानव अधिकार आयोगसँग घटनाको स्वतन्त्र, निष्पक्ष र प्रभावकारी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ। साथै, कानुनविपरीत कार्यमा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न, पीडित तथा प्रभावित परिवारलाई उचित राहत, क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचार तथा आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्न पनि आग्रह गरेको छ।
विज्ञप्तिमा पछिल्लो समय तराई–मधेश क्षेत्रमा धार्मिक विवाद बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई समयमै रोक्न सरकार, मानव अधिकारका क्षेत्रमा कार्यरत संघसंस्था तथा सरोकारवाला सबै पक्षलाई संवेदनशील, संयमित र जिम्मेवार बन्न अपिल गरिएको छ। शान्ति, सद्भाव र मानव अधिकारको संरक्षणलाई प्राथमिकतामा राखी आवश्यक पहल गर्न सम्बन्धित सबै निकायसँग समितिले आग्रह गरेको छ।
