काठमाडौं । वाईसिएल नेपालका केन्द्रीय सचिव धिरज उपरकोटीले पछिल्ला केही दिनदेखि तराई–मधेसका विभिन्न क्षेत्रमा देखिएको धार्मिक तथा सामुदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता, धार्मिक सद्भाव र शान्ति कायम गर्न सबै राजनीतिक दल, युवापुस्ता तथा आम नागरिकलाई संयमित र जिम्मेवार बन्न हार्दिक अपिल गरेका छन्। उनले जारी गरेको अपिलमा हिंसाका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उपरकोटीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएकाले यसको वास्तविक पहिचान विविधताबीचको एकतामा रहेको उल्लेख गरेका छन्। उनले कुनै पनि धर्म, जाति, भाषा वा संस्कृतिमाथि घृणा, अपमान वा हिंसालाई कुनै पनि बहानामा स्वीकार गर्न नसकिने स्पष्ट गर्दै सबैभन्दा पहिले मानव, त्यसपछि नेपाली र त्यसपछि मात्र आ-आफ्नो धर्म, जाति तथा संस्कृतिसँग आबद्ध नागरिक भएको स्मरण गराएका छन्।
उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने, अभ्यास गर्ने र संरक्षण गर्ने मौलिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै धर्मनिरपेक्ष राज्यको दायित्व सबै धर्मप्रति समान व्यवहार, समान सुरक्षा र समान सम्मान प्रदान गर्नु रहेको बताएका छन्। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नु नै वर्तमान समयको सबैभन्दा ठूलो आवश्यकता भएको उनको भनाइ छ।
सरकारलाई सम्बोधन गर्दै उपरकोटीले तत्काल सर्वदलीय बैठक बोलाई राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी, मानवअधिकारकर्मी तथा अन्य सरोकारवालासँग व्यापक संवाद र समन्वयमार्फत तनाव समाधानको पहल गर्न आग्रह गरेका छन्। उनले कानुनको निष्पक्ष कार्यान्वयन गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन र निर्दोष नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
अपिलको अन्त्यमा उपरकोटीले राजनीतिक मतभेद र विचार फरक भए पनि राष्ट्रिय एकता र सामाजिक सद्भावमाथि चुनौती आएको बेला सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले अफवाह, घृणात्मक अभिव्यक्ति तथा उक्साहटबाट टाढा रहन, एकअर्काको धर्म, संस्कृति र आस्थाको सम्मान गर्न तथा हिंसाको सट्टा संवाद, घृणाको सट्टा सद्भाव र विभाजनको सट्टा राष्ट्रिय एकतालाई बलियो बनाउन सम्पूर्ण राजनीतिक दल, युवापुस्ता र नागरिकसमक्ष हार्दिक अपिल गरेका छन्।
