काठमाडौं । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित हनुमान मन्दिर परिसरमा सुतिरहेका एक व्यक्तिको गएराति हत्या भएको छ। हंसपुर नगरपालिका–३ मलहनिया घर भई रघुनाथपुरमा फूपुको घरमा बस्दै आएका करिब ४०/४५ वर्षीय बन्ठु राउत गडेरी मृत अवस्थामा फेला परेका हुन्। घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाएको जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार गडेरीले साँझ फूपुको घरमा खाना खाएर हरेक दिनझैँ राति हनुमान मन्दिरमा सुत्न गएका थिए। स्थानीयका अनुसार उनी नियमित रूपमा मन्दिरमै रात बिताउने गर्थे। बिहान मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरीको अनुसन्धान टोली, कुकुरसहितको डग स्क्वाड परिचालन गरी प्रमाण सङ्कलन तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रारम्भिक अनुसन्धानका आधारमा मृतक बाहिर कामकाज गरेर मन्दिरमा सुत्न आउने व्यक्ति रहेको उल्लेख गर्दै घटना विशुद्ध आपराधिक प्रकृतिको देखिएको जनाएको छ। प्रहरीले हालसम्मको अनुसन्धानमा यस घटनालाई धार्मिक विवादसँग जोड्ने कुनै आधार नभेटिएको स्पष्ट पार्दै अफवाह नफैलाउन र सामाजिक सद्भाव तथा शान्ति कायम राख्न सबैमा आग्रह गरेको छ।
पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लामा धार्मिक तथा सामुदायिक तनाव देखिएको पृष्ठभूमिमा उक्त घटनालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेपछि प्रहरीले आधिकारिक धारणा सार्वजनिक गरेको हो। विज्ञप्तिमा घटनालाई धार्मिक विवादसँग नजोड्न आग्रह गर्दै दोषी जो–सुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक परीक्षण तथा थप अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ। स्थानीय प्रशासनले अपुष्ट सूचना सामाजिक सञ्जालमा नफैलाउन, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ।
