काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको १६औँ अधिवेशनको २४औँ बैठक आज शुक्रबार अपराह्न १ः१५ बजे बस्ने भएको छ। बैठकका लागि सार्वजनिक गरिएको सम्भावित दैनिक कार्यसूचीअनुसार गृहमन्त्री र शिक्षा तथा खेलकुदमन्त्रीसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यक्रम तय गरिएको छ।
कार्यसूचीअनुसार गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिनेछन्। त्यसपछि शिक्षा तथा खेलकुदमन्त्री सरस्वती पोखरेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ।
बैठकमा ध्यानाकर्षण प्रस्ताव पनि प्रस्तुत गरिनेछ। राष्ट्रिय सभा सदस्य कमला पन्तले “मानवजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी” सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।
यसैगरी, संविधान सभा सदस्य, प्रतिनिधिसभाका पूर्व सदस्य तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति राष्ट्रिय सभामा शोक प्रस्ताव प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख गरिएको छ। उक्त शोक प्रस्ताव सम्माननीय अध्यक्षले प्रस्तुत गर्नेछन्।
राष्ट्रिय सभा सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा सार्वजनिक गरिएको सम्भावित कार्यसूचीअनुसार बैठकमा उल्लेखित विषयहरूमाथि छलफल र आवश्यक प्रक्रियाहरू अघि बढाइनेछ।
