भक्तपुर । भक्तपुर अस्पतालमा रक्सीको नशामा आएका केही व्यक्तिले तोडफोड गर्नुका साथै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन्। आक्रमणका क्रममा सिजर (कैंची) प्रहार हुँदा एक चिकित्सक घाइते भएका छन्।
घटनापछि अस्पताल क्षेत्रमा तनाव उत्पन्न भएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूमाथि अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जानकारी दिएको छ।
अस्पताल प्रशासनले घटनाको कडा शब्दमा निन्दा गर्दै स्वास्थ्य संस्थामा हुने यस्ता हिंसात्मक गतिविधि अस्वीकार्य रहेको जनाएको छ। प्रशासनले दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
साथै, अस्पताल प्रशासनले बिरामी र स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै अस्पतालको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
