काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ। सभामुख अर्यालले बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो।
भेटका क्रममा सभामुख अर्याल र राष्ट्रपति पौडेलबीच मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा छलफल भएको छ।
भेटमा सङ्घीय संसद्को प्रभावकारी सञ्चालन, लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने विषय तथा संसद्को भूमिकालाई प्रभावकारी बनाउने उपायबारे विचार–विमर्श भएको बताइएको छ।
सभामुख अर्यालले संसद्का गतिविधि, विधेयक निर्माण प्रक्रिया तथा जनप्रतिनिधिमूलक संस्थाको जिम्मेवारीका विषयमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो।
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीचको भेटलाई राज्यका प्रमुख निकायबीचको समन्वय र सहकार्यका दृष्टिले महत्वपूर्ण मानिएको छ। भेटमा राष्ट्रिय हित र समसामयिक विषयमा साझा धारणा निर्माण गर्ने विषयमा समेत छलफल भएको थियो।
