सुनसरी । दुई समुदायबीच उत्पन्न असमझदारीपछि गत आइतबार रातिदेखि तनावग्रस्त बनेको सुनसरीको दक्षिणी क्षेत्रको जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ। मंगलबार रातिसम्म छिटफुट झडप र तनावको अवस्था रहे पनि बुधबारदेखि स्थिति सुधारोन्मुख देखिएको स्थानीय प्रशासनले जनाएको छ। यद्यपि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले कफ्र्यू आदेश भने यथावत् राखेको छ।
देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न पाँच बुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्।
संयुक्त प्रतिबद्धतामा पछिल्ला दिनमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुलदङ्गाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवाञ्छित गतिविधि रोक्न सबै पक्षले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइएको छ। साथै आक्रोश र प्रतिशोधको भावनाभन्दा संयम, विवेक र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिइएको छ।
प्रतिबद्धतामा सामाजिक सञ्जालमार्फत भ्रामक तथा उत्तेजक सामग्री नफैलाउन, आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र विश्वास गर्न र अफवाहको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरिएको छ। स्थानीय बासिन्दालाई सामाजिक सद्भाव कायम राख्न तथा कानुनको पालना गर्न समेत अनुरोध गरिएको छ।
यसैबीच प्रमुख राजनीतिक दलहरूले पनि सुनसरी घटनापछि विकसित परिस्थितिलाई शान्तिपूर्ण संवाद र सहकार्यबाट समाधान गर्न सबै पक्षसँग अपिल गरेका छन्। कोशी प्रदेश सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा घाइतेहरूको राहत र उपचारका लागि आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।
