गण्डकी। जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक स्थलमा सभा, जुलुस, प्रदर्शन तथा अन्य कार्यक्रम सञ्चालन गर्नुअघि स्थानीय प्रशासनबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिन सबै सरोकारवालालाई आग्रह गरेको छ।
कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै पूर्वस्वीकृति नलिई सार्वजनिक कार्यक्रम सञ्चालन गरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको हो। विभिन्न व्यक्ति, संस्था तथा समूहले आफ्ना विचार, कार्यक्रम वा प्रदर्शनको प्रचार–प्रसारका लागि सार्वजनिक स्थल प्रयोग गर्दा प्रशासनको अनुमति लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
प्रशासनका अनुसार नागरिकको शान्तिपूर्ण रूपमा भेला हुन पाउने संवैधानिक अधिकारको सम्मान गर्दै जिल्लाभित्र आयोजना गरिने सार्वजनिक प्रदर्शन, सभा, जुलुस तथा यस्तै प्रकृतिका राजनीतिक र धार्मिक गतिविधिहरू व्यवस्थित र शान्तिपूर्ण बनाउन पूर्वस्वीकृतिको व्यवस्था गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले सबै व्यक्ति, संघसंस्था तथा समूहलाई कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गर्नुअघि स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक स्वीकृति लिएर मात्र कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ।
