काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज (बिहीबार) पनि विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा पश्चिमी भू-भागमा सरदरभन्दा उत्तरतर्फ रहेकाले वर्षा हुने क्रम जारी रहनेछ।
महाशाखाका अनुसार बिहीबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ। कास्कीको याङ्जाकोटमा सबैभन्दा धेरै ६०.६ मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै जाजरकोटमा ५५ मिलिमिटर, लमजुङको भुजुङमा ५२.८ मिलिमिटर, काठमाडौंको सुन्दरीजलमा ४७.६ मिलिमिटर तथा दार्चुलाको धरमपानीमा ४५.६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।
आज दिउँसो देशका हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षासँगै हिमपात तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। रातिको समयमा पनि हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा वर्षा तथा हिमपात र कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
मौसमविद्ले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा नदी, खोला तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
