सुर्खेत । धर्मको नाममा झारफुक र हेराउनु गर्ने भन्दै सर्वसाधारणमाथि दुर्व्यवहार गरेको आरोपमा ‘पाथीभरा माता’का नामले परिचित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक निवासी अन्दाजी २३/२४ वर्षिय समीर थापालाई बुधबार बेलुकी नियन्त्रणमा लिएको हो। उनी सामाजिक सञ्जालमा ‘पाथीभरा माता’का नामले परिचित छन्।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा थापाले एक महिलामाथि कुटपिट गर्दै अपशब्द प्रयोग गरेको, अर्की महिलालाई खुट्टाको पैतला चाट्न लगाएको तथा भिडियो खिच्न निर्देशन दिएको देखिएको छ। भिडियो सार्वजनिक भएपछि प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
यसअघि पनि समीर थापाले गत असार २६ गते फेसबुक लाइभमार्फत विष सेवन गरेका थिए। त्यसपछि उनको उद्धार गरी कर्णाली प्रदेश अस्पतालमा उपचार गरिएको थियो।
उक्त घटनापछि उनका आफन्तले समाजसेवी बेदिका केसी र प्रकाश सुवेदीलाई आफूहरूले लगाएका आरोपको प्रमाण सार्वजनिक गर्न आग्रह गरेका थिए।
