हिमांशु राय-पथरी शनिश्चरे, मोरङ । पछिल्लो समय नेपालका विभिन्न स्थानमा देखिएका धार्मिक तथा सामुदायिक तनावका घटनाप्रति चिन्ता व्यक्त गर्दै संवादमार्फत शान्ति, सद्भाव र आपसी विश्वास अभिवृद्धि गर्ने उद्देश्यले पथरी जेसीजको आयोजनामा ‘शान्तिका लागि दीप प्रज्वलन तथा अन्तरधार्मिक संवाद कार्यक्रम’ सम्पन्न भएको छ।
कार्यक्रमको सह–आयोजकका रूपमा अन्तर धार्मिक शान्ति सञ्जाल मोरङ रहेको थियो। कार्यक्रममा हिन्दु, बौद्ध, इसाई तथा किराँत धर्मसँग सम्बन्धित अगुवा एवं धार्मिक व्यक्तित्वहरूले सहभागिता जनाउँदै विविधताबीचको एकता, आपसी सम्मान र सहअस्तित्व नै दिगो शान्तिको आधार भएकोमा जोड दिएका थिए।
वक्ताहरूले नेपाल बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले कुनै पनि प्रकारका धार्मिक विवाद वा मतभेदलाई द्वन्द्वको माध्यमबाट नभई संवाद, सहकार्य र पारस्परिक सम्मानका माध्यमबाट समाधान खोजिनुपर्ने धारणा राखे। धार्मिक आस्थालाई विभाजनको आधार होइन, समाजलाई जोड्ने माध्यमका रूपमा विकास गर्नुपर्ने उनीहरूको साझा निष्कर्ष थियो।
कार्यक्रममा बौद्ध धर्मका प्रतिनिधि दिलबहादुर पाख्रिन, इसाई धर्मका तर्फबाट पथरी शनिश्चरे नगर इसाई समाजका अध्यक्ष पास्टर गोपाल राई, हिन्दु समुदायका बौद्धिक व्यक्तित्व युवराज बस्कोटा र लक्ष्मी भट्टराई, तथा किराँत समुदायका प्रतिनिधि प्रदीपकुमार राईले शान्ति, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको महत्वबारे आफ्ना धारणा राख्नुभएको थियो।
वक्ताहरूले समाजमा फैलिन सक्ने भ्रम, घृणा र असहिष्णुतालाई संवाद, शिक्षा र आपसी विश्वासका माध्यमबाट अन्त्य गर्नुपर्नेमा जोड दिँदै सबै धर्मले मानवता, प्रेम, करुणा र शान्तिको सन्देश दिने भएकाले ती साझा मूल्यलाई व्यवहारमा उतार्नुपर्ने बताए।
कार्यक्रमको समापन गर्दै पथरी जेसीज वर्ष २०२६ का अध्यक्ष सुमन सुब्बाले पथरी जेसीज सधैं शान्ति, सद्भाव, सामाजिक एकता र सकारात्मक परिवर्तनको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समाजमा देखापर्ने कुनै पनि प्रकारका धार्मिक वा सामाजिक द्वन्द्वलाई संवाद र सहकार्यबाट समाधान गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, नागरिक समाज, विभिन्न धार्मिक संस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले शान्ति, सहिष्णुता, धार्मिक सद्भाव तथा राष्ट्रिय एकताको कामना गर्दै संयुक्त रूपमा दीप प्रज्वलन गरेका थिए। आयोजकका अनुसार यस्ता अन्तरधार्मिक संवाद कार्यक्रमले समाजमा विश्वासको वातावरण निर्माण गर्दै धार्मिक सद्भाव र सामाजिक एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
