काठमाडौं । गुरु पूर्णिमा महोत्सव–२०८३ को अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, ढक्सीस्थित श्री परमेश्वरी सेवा केन्द्र, सुधर्म आश्रम परिसरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।
श्री परमेश्वरी सेवा केन्द्र, सुधर्म आश्रमको आयोजनामा सम्पन्न शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसूति रोग विशेषज्ञसहित मेमोरियल अस्पतालका चिकित्सकहरूको सक्रिय सहभागिता रहेको थियो। शिविरमा विशेषज्ञ चिकित्सकहरूले सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरेका थिए।
कार्यक्रममा युवा उद्यमी, समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विष्णु कुमार श्रेष्ठ ( बिष्णु पुरुष )ले शिविर सञ्चालनका लागि आवश्यक मेडिकल किट उपलब्ध गराएका थिए। उनले समाजमा आइपर्ने सामाजिक तथा मानवीय कार्यमा आफू सदैव सहयोग गर्न प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका थिए।
गुरु पूर्णिमाको विशेष अवसरलाई थप अर्थपूर्ण बनाउँदै विभिन्न विद्यालयका विद्यार्थीहरूले गुरुको महत्त्व, गुरु–शिष्य सम्बन्ध तथा नैतिक शिक्षासम्बन्धी प्रेरणादायी वक्तृत्व प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतिले कार्यक्रममा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै उपस्थित सहभागीको ध्यान आकर्षित गरेको थियो।
कार्यक्रमको समापनमा शिविर सफल बनाउन योगदान पुर्याउने सहयोगी तथा स्वयंसेवकहरूलाई सम्मानस्वरूप प्रमाणपत्र र डायरी प्रदान गरिएको थियो। नेपाल सशस्त्र प्रहरी अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। साथै, आगामी दिनमा पनि यस्ता जनहितमुखी स्वास्थ्य तथा सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।
