काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित देशका विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ।
बैठकले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्ता दुःखद घटनाले सम्पूर्ण समाजलाई मर्माहत बनाएको उल्लेख गरिएको छ।
संयुक्त वक्तव्यमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्वको परम्परालाई कमजोर बनाउने कुनै पनि गतिविधि वा उत्तेजनामा नफस्न सम्पूर्ण नागरिकलाई अपिल गरिएको छ। लोकतान्त्रिक व्यवस्थामा कुनै पनि असन्तुष्टि वा विवादको समाधान शान्तिपूर्ण संवाद, सहमति र संवैधानिक प्रक्रियाबाट मात्रै सम्भव हुने भएकाले सबै पक्षलाई संयम अपनाउन आग्रह गरिएको छ।
बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनसँग समन्वय गरेर शान्ति र विश्वासको वातावरण निर्माण गर्न सम्बन्धित राजनीतिक दलका स्थानीय समितिहरूलाई निर्देशन दिएको छ। भविष्यमा यस्ता घटना दोहोरिन नदिन केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
त्यसैगरी, सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह, भ्रामक सूचना तथा घृणास्पद अभिव्यक्तिप्रति सचेत रहन सबैलाई आग्रह गर्दै सञ्चारमाध्यमलाई तथ्यपरक र जिम्मेवार समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ। बैठकले नेपाल सरकारलाई अधिकतम संयमता अपनाई परिस्थितिलाई सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन गम्भीर ध्यानाकर्षण गराएको छ। साथै, सहभागी राजनीतिक दलहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिपूर्ण समाधानका लागि सरकार तथा समाजसँग सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
