काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्योगी तथा व्यवसायीहरूले भोगिरहेका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
गलैंचा, प्लाइउड, पश्मिना तथा डग च्यु उत्पादक सङ्घका प्रतिनिधिहरूसँग भएको छलफलमा उहाँले निर्यातमुखी उद्योगलाई प्रोत्साहन दिने गरी आवश्यक नीतिगत सुधार गरिने विश्वास दिलाउनुभयो।
प्रधानमन्त्री शाहले नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न कूटनीतिक माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सरकारले आवश्यक पहल गर्ने बताउनुभयो। विदेशस्थित नेपाली नियोग तथा सम्बन्धित निकायमार्फत निर्यात प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी बनाइने उहाँको भनाइ थियो।
छलफलका क्रममा उद्योगीहरूले कच्चा पदार्थ आयातमा लाग्ने भन्सार महसुल, जटिल कानुनी व्यवस्था, क्वारेन्टिन प्रक्रिया तथा निर्यातसम्बन्धी विभिन्न प्रशासनिक झन्झटबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनीहरूले यस्ता समस्या समाधान भए नेपाली उत्पादनको निर्यात उल्लेखनीय रूपमा बढ्न सक्ने धारणा राखेका थिए।
उद्योगीहरूको सुझावपछि प्रधानमन्त्री शाहले कच्चा पदार्थको भन्सार महसुल आवश्यकताअनुसार संशोधन गर्न, उद्योगसँग सम्बन्धित ऐन तथा नियम परिमार्जन गर्न र क्वारेन्टिन व्यवस्थापनलाई थप चुस्त तथा प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय र निकायलाई आवश्यक निर्देशन दिनुभएको छ।
सरकारले निर्यातमुखी उद्योगको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले निजी क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ बनाइने बताउनुभयो। उहाँले उद्योगी–व्यवसायीका व्यावहारिक समस्याको समयमै समाधान गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सरकार आवश्यक सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।
