ललितपुर । ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। सोमबार साँझ महाँकाल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बा ए ए ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङमा सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
दुर्घटनामा स्कार्पियो चालक काठमाडौंको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी ग्वार्कोस्थित बीएन्डबी अस्पताल पुर्याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त स्कार्पियो एसओएस बालग्राम सानोठिमी, भक्तपुरको रहेको र त्यसमा कार्यालयका कर्मचारीहरू सवार रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते हुनेमा काठमाडौंको कोटेश्वर निवासी ३९ वर्षीया सस्मिता खतिवडा, नवलपरासीको गैँडाकोट घर भई हाल काठमाडौं बस्दै आएका ३५ वर्षीय भरत पौडेल, बर्दिया घर भई हाल काठमाडौं बस्दै आएकी ३६ वर्षीया डिना सोनाहा, नुवाकोट घर भई हाल काठमाडौं बस्दै आएका २६ वर्षीय देवेन्द्रराज पाण्डे तथा काठमाडौं महानगरपालिका–५ का ३९ वर्षीय निशान महर्जन रहेका छन्। घाइतेमध्ये चार जनाको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको महाँकाल गाउँपालिका–२ स्थित मानिखेल स्वास्थ्य चौकीमा उपचार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्कार्पियोमा चालकसहित कुल छ जना सवार थिए। उपचाररत सबै घाइतेको अवस्था खतरामुक्त रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
