पोखरा । लमजुङमा धन्सारमाथि पहिरो खस्दा बाबु–छोरीको ज्यान गएको छ। जिल्लाको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किएपछि आएको पहिरोले विष्णु दत्त सुवेदीको दुईतले धन्सार भत्किँदा उक्त दुर्घटना भएको हो।
प्रहरीका अनुसार धन्सारमा बस्दै आएका मर्स्याङ्दी गाउँपालिका–१ घनपोखरा नायुका टिकबहादुर विक र उनकी कान्छी छोरी विनीता विकको घटनास्थलमै मृत्यु भएको छ। पहिरोले धन्सार पूर्णरूपमा क्षतिग्रस्त बनाएको प्रहरीले जनाएको छ।
दुर्घटनामा टिकबहादुर विकका परिवारका अन्य सदस्यहरू पनि घाइते भएका छन्। घाइतेमध्ये उनकी श्रीमती सुककुमारी विक र अर्की छोरी अस्मिता विकको उद्धार गरी उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल अस्पताल लगिएको छ।
इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख ध्रुवप्रसाद शर्माका अनुसार घाइते दुवै जनाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी, स्थानीयवासी तथा उद्धार टोली तत्काल घटनास्थलमा पुगेर उद्धार तथा खोजी कार्य सञ्चालन गरेका थिए। निरन्तर वर्षासँगै पहिरोको जोखिम बढेकाले नदी, खोला तथा पहाडी भेगका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
