सुनसरी । सुनसरीको देवानगञ्ज गाँउपालिकास्थित कप्तानगञ्जमा भएको घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय सुनसरीले दुई पालिकामा निषेधाज्ञालाई निरन्तरता दिएको छ ।
सोमबार गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीदेखि कोशी प्रदेश प्रहरीसम्मलाई हेरफेर गरेसँगै नवनियुक्त सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै घटना भएको देवानगञ्ज गाँउपालिका र हरिनगर गाँउपालिकाका सबै क्षेत्रमा निषेधाज्ञालाई निरन्तरता दिएको जनाएका छन् ।
विज्ञप्तिमा अनुसार बिहान ७ बजेबाट बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी भएको स्थानसम्म पाँचजना भन्दाबढी मानिसहरु भेला हुन नपाउने जनाएको छ । सो आदेश अवज्ञा भएको खण्डमा पाँचसय रुपैयाँदेखि एक महिनासम्म कैद हुने जनाइएको छ ।
त्यसैगरी, घटनाको विषयमा गठन भएको छानविन समितिले घाइते उपचार रहेको विराटनगरको विभिन्न स्थानमा पुगेर जानकारी लिएको छ । समितिका पदाधिकारीले सोमबार बेलुका नै घटनाबारे जानकारी लिएको हो । घटनाबारे आवश्यक जानकारी लिएको समितिले घटनास्थल कप्तानगञ्जको पनि निरीक्षण गर्ने जनाएको छ ।
