कृष्ण कुँवर (दीपक कुँवरको सहयोगमा) पोखरा, — नेपाल चिकित्सक संघले चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने आन्दोलन घोषणा गरेसँगै त्यसको प्रभाव गण्डकी अस्पताल पोखरामा पनि देखिएको छ।
बिहीबार बिहानदेखि बहिरङ्ग (ओपीडी) लगायत नियमित स्वास्थ्य सेवा प्रभावित हुँदा उपचारका लागि आएका धेरै बिरामी उपचार नपाई घर फर्किन बाध्य भएका छन्। आकस्मिक सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको अस्पतालले जनाएको छ।
नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको विरोध गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ। सोही मागसहित देशभर आकस्मिकबाहेकका सेवा बन्द गरिएको संघले जनाएको छ।
सेवा प्रभावित भएपछि नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा फलोअपका लागि आएका बिरामीले सास्ती खेप्नुपरेको छ। सरकारले चिकित्सकको सुरक्षा सुनिश्चित गर्दै समस्या शीघ्र समाधान गर्नुपर्ने माग बिरामी तथा उनका आफन्तले गरेका छन्।
