भक्तपुर। प्रतिनिधिसभा सदस्य गंगालक्ष्मी अवालले आज भक्तपुरस्थित शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले केन्द्रबाट प्रदान हुँदै आएका स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी लिनुका साथै अस्पतालको समग्र सेवा प्रवाहको अवलोकन गर्नुभयो।
निरीक्षणका क्रममा अवालले उपचाररत बिरामीको अवस्था, उपलब्ध स्वास्थ्य सेवा, चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको जनशक्ति, अस्पतालको पूर्वाधार तथा सञ्चालनका क्रममा देखिएका चुनौतीबारे केन्द्रका पदाधिकारीसँग जानकारी लिनुभयो। साथै, सेवाग्राहीले भोगिरहेका समस्या र सुधार गर्नुपर्ने पक्षबारे समेत छलफल गर्नुभएको थियो।
उहाँले अङ्ग प्रत्यारोपणजस्तो संवेदनशील र विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले गुणस्तरीय, प्रभावकारी र सहज सेवा प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि आवश्यक स्रोत, साधन र व्यवस्थापनलाई थप सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।
निरीक्षणपछि केन्द्रका पदाधिकारी तथा स्वास्थ्यकर्मीसँग भएको छलफलमा सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र नागरिकमैत्री बनाउने विषयमा विभिन्न सुझाव आदानप्रदान गरिएको थियो। केन्द्रले हाल प्रदान गरिरहेका सेवाको प्रभावकारिता बढाउँदै भविष्यमा देखिएका चुनौती समाधानका लागि आवश्यक पहल गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।
