काठमाडौं । देशका विभिन्न जिल्लामा लगातारको वर्षा, बाढी, पहिरो तथा सम्भावित प्राकृतिक विपद्का कारण देशभरका कम्तीमा ८ वटा मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ः५५ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा बन्द रहेको, केहीमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको र केही सडकमा निश्चित समयका लागि आवागमन रोकिएको जनाएको छ।
प्रहरीका अनुसार इलामको मेची राजमार्ग, खोटाङको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग (दुई स्थान), बागलुङको कालीगण्डकी करिडोर र दार्चुलाको महाकाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। यस्तै भोजपुरको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने रसुवाको पासाङ ल्हामु सडक पनि एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
यसैबीच काभ्रे जिल्लामा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै धुलिखेल–नेपालथोक–काठमाडौंतर्फ चल्ने सम्पूर्ण सवारीसाधन राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै मकवानपुरको कान्तिलोकपथमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले वर्षायाममा यात्रा गर्दा सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न, जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा सुरक्षा निकायले जारी गरेका निर्देशनहरूको पूर्ण पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
