भक्तपुर । भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसको झ्यालबाट खसेर एक १८ वर्षीया युवतीको मृत्यु भएको छ। आज बिहान करिब ३ बजे भएको उक्त घटनापछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ।
मृत्यु हुनेमा दोलखा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–९ टेडोल बस्दै आएकी सलिना श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार उनी गेष्ट हाउसको झ्यालबाट खसेको अवस्थामा फेला परेकी थिइन्।
गम्भीर घाइते भएकी श्रेष्ठलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल पुर्याइएको थियो। चिकित्सकले उनको उपचारका क्रममा मृत्यु भएको घोषणा गरेका हुन्।
घटनापछि प्रहरीले सलिनासँगै गेष्ट हाउसमा रहेका चार जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान अघि बढाएको जनाएको छ। उनीहरूलाई घटनाबारे आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाको वास्तविक कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनास्थलको मुचुल्का, प्रारम्भिक प्रमाण संकलन तथा नियन्त्रणमा रहेका व्यक्तिसँग सोधपुछका आधारमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
