खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले लगातारको वर्षा र सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवा–दिक्तेल–जयरामघाट सडक खण्ड तथा सहायक मार्गहरूमा आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी रेखा केँदेलद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार साउन २ र ३ गते मनसुन गतिविधि बढ्ने तथा कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।
भारी वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्ने, बाढी आउने, सडक कटान, पहिरो जाने तथा हुस्सुका कारण दृश्यता कम भई दुर्घटनाको जोखिम उच्च रहने जनाइएको छ।
प्रशासनले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि उक्त अवधिभर अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधन बाहेक अन्य सवारी सञ्चालन नगर्न आग्रह गरेको छ। साथै, रातिको समयमा अनावश्यक यात्रा नगरी उच्च सतर्कता अपनाउन सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरिएको छ।
प्रशासनले अत्यावश्यक अवस्थाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङको सम्पर्क नम्बर ९८५२९०५५५५ मा सम्पर्क गर्न सकिने जनाएको छ। मौसमको अवस्थालाई ध्यानमा राखी सुरक्षित यात्रा गर्न र प्रशासनले जारी गरेको सूचनाको पूर्ण पालना गर्न समेत आग्रह गरिएको छ।
