कुवेत । खोटाङ कुवेत सम्पर्क मञ्चले आफ्नो ७औँ अधिवेशन तथा १६औँ वार्षिकोत्सव आगामी सेप्टेम्बर २५, २०२६ (असोज ९, २०८३) मा भव्य रूपमा आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रम शुक्रबार बिहान १० बजेदेखि सुरु हुने भए पनि कार्यक्रमस्थल भने पछि सार्वजनिक गरिने जनाइएको छ।
यो निर्णय मञ्चको २६औँ मासिक बैठकबाट सर्वसम्मत रूपमा पारित गरिएको हो। शुक्रबार कुवेतस्थित एसियन नेपाली रेस्टुरेन्टमा संस्थाका अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकले अधिवेशन तथा वार्षिकोत्सवको मिति तय गरेको हो।
संस्थाका सञ्चार विभाग प्रमुख पर्शुराम घिमिरेका अनुसार कार्यक्रम सफल बनाउन आवश्यक तयारी सुरु गरिएको छ। अधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै संस्थाको आगामी कार्यदिशाबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
मञ्चले कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्थालाई सोही दिन अन्य कार्यक्रम नजुधाइ सहयोग गरिदिन आग्रह गरेको छ। साथै, कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई यसको गरिमा बढाइदिन हार्दिक अनुरोध गरेको छ।
