भक्तपुर । भक्तपुरको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदासँग साइक्लिङलाई जोड्दै ‘कोरा जात्रा @ भक्तपुर २०२६’ आयोजना भएको छ। साइकल कनेक्ट भक्तपुर (Cycle Connect Bhaktapur) को आयोजनामा यस कार्यक्रमले सम्पदा संरक्षण, वातावरणमैत्री यातायात, स्वस्थ जीवनशैली तथा सामुदायिक सहभागितालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
सार्वजनिक गरिएको पोस्टरमा भक्तपुरको सांस्कृतिक पहिचान झल्किने रथ, मन्दिर तथा सम्पदाका आकृतिसँगै साइक्लिस्टहरूको चित्र समावेश गरिएको छ। यसले ‘कोरा’लाई केवल साइक्लिङ प्रतियोगिता नभई भक्तपुरको सांस्कृतिक सम्पदाको परिक्रमा गर्ने अभियानका रूपमा प्रस्तुत गरेको छ।
आयोजकका अनुसार यस वर्ष बालबालिकाका लागि २५ किलोमिटर तथा २५, ५०, ७५, १०० र १५० किलोमिटर दूरीका विभिन्न रुटहरू समावेश गरिएका छन्। यसपटक पहिलो पटक सुपर कोरा १५० किलोमिटर पनि समावेश गरिएको छ, जसले अनुभवी साइक्लिस्टहरूलाई थप चुनौती प्रदान गर्ने अपेक्षा गरिएको छ।
‘कोरा जात्रा @ भक्तपुर २०२६’ ले भक्तपुरका ऐतिहासिक गल्ली, मठ–मन्दिर, चौक र सांस्कृतिक सम्पदाको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै साइक्लिङ संस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
कार्यक्रमले स्थानीय समुदाय, स्वयंसेवक, युवाहरू तथा विभिन्न संघ–संस्थाको सक्रिय सहभागितामार्फत वातावरण संरक्षण र दिगो सहरी जीवनशैलीको सन्देश फैलाउने विश्वास लिइएको छ।
