काठमाडौं । चाँगुनारायण नगरपालिकामा लामो समयदेखि अलपत्र रहेका सडक निर्माण कार्यलाई अघि बढाउने दिशामा सकारात्मक संकेत देखिएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त सुरज शाक्यले एक साताभित्र सम्बन्धित सडकहरूको स्थलगत निरीक्षण गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
शुक्रबार नगर प्रमुख जीवन खत्रीको नेतृत्वमा जनप्रतिनिधिसहितको डेलिगेसन प्राधिकरण पुगेर अलपत्र सडक निर्माणबारे ध्यानाकर्षण गराएको थियो। सो क्रममा विकास आयुक्त शाक्यले समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको हो।
उहाँले एक साताभित्र स्थलगत निरीक्षण गरी स्थानीय बासिन्दासँग प्रत्यक्ष छलफल गर्ने बताउनुभएको छ। निरीक्षणपछि सडक निर्माण रोकिएको कारण र त्यसका कानुनी तथा प्राविधिक पक्षको विस्तृत अध्ययन गरिने उहाँको भनाइ छ।
विकास आयुक्त शाक्यले अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा निर्माण कार्यलाई यथाशीघ्र अघि बढाउने गरी आवश्यक प्रक्रिया अगाडि बढाइने स्पष्ट पार्नुभएको छ। यसले लामो समयदेखि रोकिएको सडक निर्माणले गति लिने अपेक्षा गरिएको छ।
स्थानीयवासीले भने वर्षौंदेखि अधुरो अवस्थामा रहेका सडकका कारण दैनिक आवतजावतमा कठिनाइ भोग्दै आएका छन्। प्राधिकरणको प्रतिबद्धतापछि अब सडक निर्माण छिट्टै अघि बढ्ने विश्वास स्थानीय जनप्रतिनिधि र नागरिकले व्यक्त गरेका छन्।
