काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १० बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप बिष्टको उपस्थितिमा धन्यवाद, जनअन्तरक्रिया तथा रक्तदान कार्यक्रम शनिबार काठमाडौंको सिमचौर पिपलबोट परिसरमा सम्पन्न भएको छ। कार्यक्रममा निर्वाचनपछि भएका कामको समीक्षा, आगामी विकास योजनाबारे छलफल तथा स्थानीयवासीका सुझाव संकलन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बिष्टले निर्वाचनमा आफूलाई विश्वास गरी निर्वाचित गराउने मतदाता तथा आम नागरिकप्रति आभार व्यक्त गरे। उनले निर्वाचनपछि आफ्नो पहलमा सम्पन्न भएका विकास निर्माणका काम, प्राथमिकतामा रहेका आयोजना तथा आगामी योजनाबारे जानकारी गराउँदै जनअपेक्षा पूरा गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा काठमाडौं क्षेत्रीय सभापति रामराज थापा, पार्टीका केन्द्रीय विभागका सदस्यहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्थानीय बासिन्दा र मतदाताले सडक, खानेपानी, शिक्षा, पूर्वाधार विकास तथा अन्य जनचासोका विषयमा आफ्ना सुझाव र जिज्ञासा राखेका थिए।
उठाइएका विषयमा सांसद बिष्टले जनताका सुझावलाई विकास योजनाको आधार बनाइने बताउँदै आवश्यक समन्वय र पहलमार्फत समस्याको समाधान गर्ने आश्वासन दिए। उनले जनप्रतिनिधिको जिम्मेवारी जनताको अपेक्षा अनुरूप काम गर्नु भएकाले नागरिकसँगको निरन्तर संवादलाई प्राथमिकतामा राख्ने धारणा व्यक्त गरे।
यसै अवसरमा आयोजित रक्तदान कार्यक्रममा स्थानीय युवा तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा रक्तदानसँगै नागरिकका सुझाव र गुनासोसमेत संकलन गरिएको आयोजकले जनाएको छ।
