काठमाडौं । प्रतिनिधिसभाका सम्माननीय सभामुख डीपी अर्यालले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत काठमाडौं महानगरपालिका–१२ मा रहेका विभिन्न सांस्कृतिक, शैक्षिक तथा सम्पदास्थलहरूको अवलोकन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले महेन्द्र सरस्वती विद्यालयमा सञ्चालित म्युजिक कक्षाको निरीक्षण गर्दै विद्यार्थी तथा शिक्षकसँग अन्तरक्रिया गर्नुभयो।
सभामुख अर्यालले टेकु दोभानदेखि हनुमानघाटसम्मको क्षेत्रको समेत स्थलगत अवलोकन गर्नुभएको थियो। यस क्रममा उहाँले स्थानीय पूर्वाधार, नदी क्षेत्रको संरक्षण तथा सार्वजनिक सरोकारसँग सम्बन्धित विषयमा जानकारी लिनुभएको बताइएको छ।
त्यसैगरी उहाँले लक्ष्मीश्वर महादेव मन्दिरमा सञ्चालित परम्परागत नृत्य कक्षाको अवलोकन गर्नुका साथै नेपाली लोकबाजा सङ्ग्रहालयको निरीक्षण गर्नुभयो। उहाँले नेपालको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा यस्ता गतिविधिको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो।
अवलोकन कार्यक्रमकै क्रममा सभामुख अर्यालले पचली भैरव गुठी खलक, सरोकारवाला निकाय तथा स्थानीय जनप्रतिनिधिहरूसँग भेटघाट तथा छलफल गर्नुभयो। छलफलमा क्षेत्रका सम्पदा संरक्षण, स्थानीय विकास, सांस्कृतिक सम्पदाको प्रवर्द्धन तथा जनचासोका विविध विषयमा विचार आदानप्रदान भएको थियो।
