धादिङ । धादिङको रुबी भ्याली गाउँपालिका–१ (साबिक तिप्लिङ) अन्तर्गत पर्ने पेल्दोर डाँडामा आरसीसी (RCC) क्रस निर्माण गरिने भएको छ। रुबी भ्याली इसाई समाजका अध्यक्ष सुमन घलेका अनुसार रुबी भ्याली क्षेत्रका विभिन्न चर्चहरूको आर्थिक तथा प्राविधिक सहयोग तथा आवश्यक निर्माण सामग्रीको व्यवस्थापनमार्फत क्रस निर्माणको तयारी अघि बढाइएको हो।
अध्यक्ष घलेले पेल्दोर डाँडासम्म पुग्ने गोरेटो बाटो निर्माणका लागि वडा कार्यालय र रुबी भ्याली गाउँपालिकासँग समन्वय भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार बाटो निर्माणका लागि आवश्यक बजेट विनियोजन प्रक्रिया पनि अगाडि बढाइएको छ।
उहाँले बाटो निर्माण सम्पन्न भएपछि स्थानीयवासी, श्रद्धालु तथा धार्मिक पर्यटकलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गर्नुभयो। क्रस निर्माणले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय क्षेत्रको विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ छ।
यसैबीच, करिब दुई महिनाअघि सोही स्थानमा रहेको क्रस ढालिएको घटनाप्रति अध्यक्ष घलेले गम्भीर असन्तुष्टि जनाउँदै घटनाको हालसम्म निष्पक्ष अनुसन्धान हुन नसकेको बताउनुभयो। उहाँले उक्त घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराइएको भए पनि अनुसन्धानले अपेक्षित गति लिन नसकेको दाबी गर्नुभयो।
अध्यक्ष घलेले धार्मिक आस्थासँग जोडिएको उक्त घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कानुनबमोजिम कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभएको छ। यद्यपि, यस विषयमा सम्बन्धित सुरक्षा निकाय वा स्थानीय सरकारको आधिकारिक प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन।
