काठमाडौं। मेडिकल व्यवसायी तथा अभियानकर्ता दुर्गा प्रसाईंले नेपालमा सुशासन र आर्थिक समृद्धि कायम गर्न नसकिने हो भने भारतको राज्य बन्ने विकल्पबारे सोच्नुपर्ने अभिव्यक्ति दिएका छन्। उनले यस्तो धारणा सार्वजनिक कार्यक्रममा व्यक्त गरेका हुन्।
प्रसाईंले नेपालका नागरिकले महँगो सवारीसाधन खरिद गर्न बाध्य भइरहेको उल्लेख गर्दै भारतमा भने तुलनात्मक रूपमा निकै सस्तो मूल्यमा मोटरसाइकल र कार उपलब्ध हुने दाबी गरे। उनले नेपाल भारतको राज्य बने नेपाली नागरिकले पनि त्यही सुविधा पाउने तर्क प्रस्तुत गरे।
उनले भने, “यदि यो देश बनाउन सकिँदैन भने नेपाललाई भारतको राज्य बनाउनुपर्छ; कमसेकम हाम्रा दाजुभाइले ५० हजारमा मोटरसाइकल र २ लाखमा कार त चढ्न पाउँथे।” प्रसाईंको यो अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा व्यापक प्रतिक्रिया देखिएको छ।
प्रसाईंको भनाइप्रति हालसम्म सरकार वा प्रमुख राजनीतिक दलहरूको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। उनको अभिव्यक्तिले नेपालको सार्वभौमिकता, आर्थिक नीति तथा राष्ट्रिय हितका विषयमा नयाँ बहस सिर्जना गरेको छ।
