काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य गंगालक्ष्मी अवालले सरकारले निर्माण गर्न लागेको १३ वटा कृषि सम्बन्धी विधेयकमा महिला किसानलाई विशेष प्राथमिकता दिई उनीहरूको सशक्तीकरण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ।
प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद अवालले अधिकांश युवा पुरुष वैदेशिक रोजगारीमा गएकाले गाउँघरको कृषि उत्पादनको मुख्य जिम्मेवारी महिलाले सम्हालिरहेको बताउनु भयाे।
सांसद अवालले नेपालको कृषि उत्पादन र ग्रामीण अर्थतन्त्रमा महिला किसानको योगदान महत्वपूर्ण रहे पनि नीति तथा कानुनी व्यवस्थामा उनीहरूको पर्याप्त प्रतिनिधित्व र अधिकार सुनिश्चित हुन नसकेको बताउनुभयो। त्यसैले बन्ने विधेयकहरू महिला मैत्री हुनुपर्ने उहाँको भनाइ थियो।
उहाँले कृषि क्षेत्रमा महिलाको भूमि, प्रविधि, वित्तीय सेवा, तालिम तथा बजार पहुँचलाई सहज बनाउने व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। यसले महिला किसानलाई आत्मनिर्भर बनाउनुका साथै कृषि क्षेत्रको समग्र उत्पादनशीलता बढाउन सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो।
सांसद अवालले कृषि क्षेत्रको दिगो विकास र खाद्य सुरक्षाका लागि महिला किसानको भूमिका अझ प्रभावकारी बनाउन कानुनी आधार बलियो बनाउनुपर्नेमा जोड दिँदै नयाँ कृषि विधेयकहरू समावेशी, व्यवहारिक र किसानमैत्री हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
