काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन्। केही दिनअघि भएको उक्त घटनामा उनको दायाँ हात भाँचिएको देउवानिकट स्रोतले जनाएको छ।
स्रोतका अनुसार दुर्घटनापछि देउवाको तत्काल उपचार गरिएको थियो। उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालबाट डिस्चार्ज भइसकेको पनि स्रोतले जानकारी दिएको छ।
देउवा २०८२ चैत ७ गते पत्नी डा. आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुरबाट हङकङ गएका थिए। सोही क्रममा उनी बाथरुममा लडेर घाइते भएका हुन्।
हाल देउवा चिकित्सकको निगरानीअनुसार आराम गरिरहेका छन्। उनको स्वास्थ्यमा सुधार भइरहेको र अवस्था सामान्य रहेकाले चिन्ताजनक अवस्था नरहेको निकट स्रोतले जनाएको छ।
