काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), चाँगुनारायण नगर समितिले सांगठनिक सुदृढीकरण र स्थानीय मुद्दाहरूको पहिचानका लागि वडा तहमा प्रत्यक्ष संवाद अभियान सुरु गर्ने भएको छ ।
यस अभियान अन्तर्गतको पहिलो कार्यक्रम भोलि साउन २ गते (शनिबार) चाँगुनारायण नगरपालिका वडा नम्बर ५ बाट सुरु हुन लागेको हो । वडा नं. ५ समितिका अनुसार यो अभियान अन्तर्गत पार्टीका साधारण सदस्यदेखि लिएर विभिन्न तह र तप्कामा रहेका स्थानीय अगुवा, कार्यकर्ता तथा पार्टीप्रति सद्भाव राख्ने आम शुभचिन्तकहरूसँग प्रत्यक्ष विमर्श गरिनेछ ।
जिल्ला सभापती रामेश्वर बस्नेत, सांसद रुकेश रंजित, चाँगुनारायण नगर सभापती रोशन थापा लगायतको उपस्थितीमा हुने छलफलमा वडास्तरका विद्यमान समस्या, विकास निर्माणका तत्कालीन आवश्यकता र पार्टीको आगामी कार्यदिशाबारे गहन विमर्श हुनेछ । यो संवाद अभियानलाई क्रमशः नगरका अन्य वडाहरूमा पनि तीव्र रूपमा विस्तार गर्दै लैजाने नगर सभपाती थापाले जानकारी गराए ।
आयोजकले वडा नम्बर ५ का सम्पूर्ण सरोकारवाला तथा शुभचिन्तकहरूलाई उपस्थित भई आफ्नो अमूल्य सुझाव राख्न हार्दिक अपिल गरेको छ ।
पार्टीको मेरिटोक्रेसी (योग्यता प्रणाली) र खुला आह्वानको नीति अनुरूप नगर समितिले यसअघि नै एक विज्ञ समूह गठन गरिसकेको छ । उक्त समूहमा आबद्ध सहरी विकास, पूर्वाधार तथा गुरुयोजनाविद्, अर्थशास्त्री, राजस्व रणनीतिकार, सार्वजनिक नीति तथा प्रशासनिक विज्ञ, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका जानकारका साथै सम्पदा, पर्यटन र संस्कृतिविद्हरूलाई चाँगुनारायणको वस्तुनिष्ठ योजना बनाउन परिचालन गर्ने तयारी समेत नगर समितिले गरेको छ ।
वडा तहबाट संकलन गरिने स्थानीयका सुझाव, गुनासा र आवश्यकतालाई ती विज्ञहरूको प्राविधिक क्षमतासँग जोडेर चाँगुनारायणको दीर्घकालीन र वैज्ञानिक विकासको गुरुयोजना बनाउने लक्ष्य पार्टीले लिएको छ ।
