काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा महत्त्वपूर्ण विधेयकहरू पारित भएको उल्लेख गर्दै अधिवेशन अवधिभर सांसदहरूको भूमिका सक्रिय रहेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले आगामी बैठकहरूमा अझ बढी सक्रियता देखिने विश्वास व्यक्त गरे।
सभामुख अर्यालले चालु अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयक पारित गरिएको जानकारी दिए। आर्थिक वर्ष २०८२/८३ को अन्त्यतर्फ देश अघि बढिरहेका बेला राज्यका नीति, कार्यक्रम, कानुन निर्माण र सेवा प्रवाहप्रति जनस्तरबाट आएका प्रतिक्रिया, चासो र सुझावलाई सुन्नु तथा त्यसलाई संसदमा उठाउनु प्रतिनिधिसभा सदस्यहरूको महत्त्वपूर्ण दायित्व भएको उनको भनाइ थियो।
उनले नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वयमा आधारित संघीय शासन प्रणालीको व्यवस्था गरेको उल्लेख गर्दै तीनै तहबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सांसदहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए। संसद जनताको आवाज र सरकारबीचको लोकतान्त्रिक सेतु भएकाले जनअपेक्षालाई निर्णय प्रक्रियासम्म पुर्याउन सांसदहरू सक्रिय हुनुपर्ने उनले जोड दिए।
सभामुख अर्यालले संसदको विश्रामलाई जनतासँगको संवादमा रूपान्तरण गर्न सांसदहरूलाई आग्रह गरे। सरकारले आगामी आर्थिक वर्षलाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गरेकाले प्रचलित कानुनको पुनरावलोकन, संशोधन, एकीकरण तथा आवश्यक नयाँ कानुन निर्माणमा संसदको भूमिका अझ महत्वपूर्ण हुने उनको भनाइ थियो। प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको उनले जानकारी दिए।
