काठमाडौँ । प्रहरीले दुई थान चोरीका स्कुटरसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–९ तिलगङ्गाबाट काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएका २१ वर्षीय आकाश तामाङलाई पक्राउ गरेको हो। उनलाई बुधबार सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका तामाङको साथबाट प्रदेश ३–०२–०११ प २८४६ नम्बरको अप्रिला कम्पनीको स्कुटर र बा.प्र–०२–०४३ प ८५४२ नम्बरको होन्डा डिओ स्कुटर बरामद गरिएको छ।
प्रहरीले बरामद गरिएका दुवै स्कुटर चोरी भएका सवारीसाधन रहेको जनाएको छ। चोरीमा संलग्न रहेको आशंकाका आधारमा तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तामाङविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
