भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आजदेखि ३८ दिनसम्म सञ्चालन हुने श्रावणी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। केदारनाथको शिरका रूपमा धार्मिक आस्थाको केन्द्र मानिने यस मन्दिरमा यस वर्ष करिब ५० लाख स्वदेशी तथा विदेशी भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको मन्दिर संरक्षण तथा विकास समितिले जनाएको छ।
समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार साउनभर विशेषगरी शनिबार, आइतबार र सोमबार मन्दिर परिसरमा अत्यधिक भक्तजनको चाप रहने भएकाले दर्शन व्यवस्थापन, सुरक्षा र स्वास्थ्य सेवाको विशेष तयारी गरिएको छ। मेलाका क्रममा भारतबाट मात्रै ६० हजारभन्दा बढी तीर्थयात्री आउने अनुमान गरिएको छ भने भेटी सङ्कलन एक करोड रुपैयाँभन्दा बढी हुने अपेक्षा गरिएको उनले बताए।
मेलालाई व्यवस्थित बनाउन १४ वटा उपसमिति परिचालन गरिएको छ। भक्तजनको स्वास्थ्य सेवाका लागि नेपाली सेना, नगर अस्पताल तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरिएको समितिले जनाएको छ। साथै मन्दिर क्षेत्रमा सुरक्षा निगरानी सुदृढ बनाउन ५५ वटा सिसी क्यामेरा सञ्चालनमा ल्याइने भएको छ।
यसैबीच, मन्दिर परिसरमा निर्माणाधीन ५० शय्याको वृद्धाश्रम भवन यसै वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ। करिब दुई करोड ५० लाख रुपैयाँ लागतको उक्त परियोजनाले धार्मिक क्षेत्रसँगै सामाजिक सेवामा पनि योगदान पुर्याउने विश्वास गरिएको छ। डोलेश्वर–आशापुरी मन्दिर जोड्ने सडकको स्तरोन्नति कार्य पनि अन्तिम चरणमा पुगेको छ।
सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले दर्शनार्थीको सहज आवतजावतका लागि छुट्टै लाइन व्यवस्थापन गरिएको जानकारी दिँदै स्थानीय तहले मेला व्यवस्थापनमा आवश्यक सहयोग गरिरहेको बताए। समितिका अनुसार साउन १ गते चाँगुनारायण मन्दिर क्षेत्रबाट कलश यात्रा निकालेर डोलेश्वर महादेवमा पु¥याएपछि औपचारिक रूपमा श्रावणी मेलाको उद्घाटन गरिनेछ। साथै साउन महिनाभर नजिकै रहेको आशापुरी मन्दिरमा पनि विशेष धार्मिक मेला सञ्चालन हुनेछ।
