भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूले कर्मचारी सेवाका शर्त तथा सुविधा विनियमावली–२०८३ तत्काल स्वीकृत गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन्। अस्पतालले तयार गरी स्वीकृतिका लागि पठाएको विनियमावली हालसम्म स्वीकृत नभएको भन्दै उनीहरूले यसले अस्पतालमा कार्यरत करिब ३७२ जना कर्मचारीको भविष्य अन्योलमा परेको बताएका छन्।
बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा कर्मचारीहरूले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश–२०७७ अनुसार अस्पतालको सञ्चालन तथा व्यवस्थापन हुनुपर्ने माग गरेका छन्। स्वास्थ्य बिमा, विपन्न, गरिब तथा असहाय बिरामीका लागि अस्पताल महत्वपूर्ण उपचार केन्द्रका रूपमा स्थापित भएको उल्लेख गर्दै आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकमार्फत सेवा विस्तार भएपछि उपचार व्यवस्थापन थप प्रभावकारी बनेको उनीहरूको भनाइ छ।
कर्मचारीहरूका अनुसार विनियमावली स्वीकृत नहुँदा लामो समयदेखि कार्यरत कर्मचारीको स्तरवृद्धि, स्थायी सेवा तथा सेवा–सुविधा सुनिश्चित हुन सकेको छैन। साथै, विनियमावलीको अभावलाई आधार बनाएर नियमविपरीत ज्यालादारी नियुक्ति तथा खरिद प्रक्रियामा समेत अनियमितता हुने वातावरण सिर्जना भएको आरोप उनीहरूले लगाएका छन्।
विज्ञप्तिअनुसार उक्त विनियमावलीले लोक सेवा आयोग, अर्थ मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आवश्यक सिफारिस प्राप्त गरिसकेको छ। अस्पताल विकास समितिले अध्ययन तथा निर्णयपछि अध्यक्ष, कार्यकारी निर्देशक र सम्बन्धित पदाधिकारीको हस्ताक्षरसहित स्वीकृतिका लागि मन्त्रालयमा पठाइसकेको कर्मचारीहरूको दाबी छ।
कर्मचारीहरूले केही व्यक्तिले व्यक्तिगत स्वार्थका कारण भ्रामक सूचना सार्वजनिक गर्दै विनियमावली स्वीकृत हुन नदिन र अस्पतालको विकासमा अवरोध पुर्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्। यस्ता गतिविधिमा संलग्नमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दै उनीहरूले क्यान्सर उपचारमा अग्रणी भूमिका निर्वाह गरिरहेको अस्पताललाई थप सुदृढ बनाउन विनियमावली यथाशीघ्र स्वीकृत गरी कर्मचारीहरूको भविष्य सुरक्षित गर्न सरकारसँग आग्रह गरेका छन्।
