काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता लक्ष्मीप्रसाद न्यौपानेले नेपालको वर्तमान राजनीतिक नेतृत्व र राजनीतिक संस्कृतिप्रति असन्तुष्टि व्यक्त गर्दै मूल्य, नैतिकता र राष्ट्रदृष्टिमा आधारित नेतृत्वको आवश्यकता औँल्याएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र मदन भण्डारीपछि पहिलो कोटीको राजनीतिक नेतृत्व आफूले देख्न नसकेको बताएका छन्।
न्यौपानेले ती नेतापछि नेपालको राजनीतिक यात्रामा विचार, चरित्र र राष्ट्रदृष्टिको उचाइभन्दा सत्ता, स्वार्थ र व्यक्तिगत छविको प्रतिस्पर्धा बढी देखिएको अनुभूति भएको उल्लेख गरेका छन्। उनले वर्तमान राजनीतिक अभ्यासले जनअपेक्षा अनुसारको नेतृत्व उत्पादन गर्न नसकेको संकेत गरेका छन्।
उनले आफू प्रत्येक व्यक्तिप्रति सम्मान र प्रेम राख्ने भए पनि मूल्य, मर्यादा र राष्ट्रहितबाट विचलित भएको राजनीतिक संस्कृतिप्रति कुनै मोह नरहेको स्पष्ट पारेका छन्। व्यक्तिभन्दा पनि राजनीतिक आचरण र संस्कृतिमा सुधार आवश्यक रहेको उनको भनाइ छ।
न्यौपानेका अनुसार नेपाल अहिलेको विकृत राजनीतिक संस्कृतिबाट मुक्त हुन सके देशले आफ्नो वास्तविक स्वभाव प्राप्त गर्नेछ। राजनीति ज्ञान, नैतिकता, चरित्र, दूरदृष्टि र राष्ट्रसेवाको आधारमा सञ्चालन हुन थालेपछि मात्र नेपाल समृद्ध, सभ्य र स्वाभिमानी राष्ट्रका रूपमा स्थापित हुने उनको विश्वास छ।
सामाजिक सञ्जालमा सार्वजनिक उनको यो अभिव्यक्तिले नेपालको राजनीतिक नेतृत्व, राजनीतिक संस्कार र भावी दिशाबारे नयाँ बहस सिर्जना गरेको छ। उनले मूल्यमा आधारित राजनीति र राष्ट्रहितलाई केन्द्रमा राख्ने नेतृत्वको आवश्यकता पुनः जोड दिएका छन्।
