काठमाडौं। नेपाल प्रहरीले ट्राफिक प्रहरीले जरिवाना काटेबापत २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्ने भन्ने विषयमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित/प्रसारित समाचार र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरी प्रधान कार्यालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ट्राफिक नियम उल्लङ्घन गरेबापत उठाइने जरिवाना रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने व्यवस्था रहेको स्पष्ट पारेको छ। उक्त जरिवानाबाट ट्राफिक प्रहरी वा अन्य कुनै कर्मचारीले अतिरिक्त शुल्क, सुविधा वा विशेष भत्ता प्राप्त गर्ने कुनै कानुनी व्यवस्था नरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाल प्रहरीले तथ्य र आधिकारिक जानकारीबिना अनुमानका आधारमा यस्ता समाचार तथा टिप्पणी प्रकाशित वा प्रसारण गर्दा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउन सक्ने जनाएको छ।
प्रहरीले सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई यस्ता भ्रामक र तथ्यहीन सूचना प्रचार–प्रसार नगर्न तथा समाचार वा सूचना प्रकाशन/प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गरेर मात्र जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अवि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।

