पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती तथा खेतीयोग्य जमिन संरक्षणका लागि तटबन्ध निर्माण सम्पन्न भएको छ। सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले रु तीन करोडको लागतमा निर्माण सम्पन्न गरेको तटबन्धले बर्सेनि हुने बाढी र कटानको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।
आयोजना कार्यालयका प्राविधिक दिनेश सुवेदीका अनुसार हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर गरी कुल २७६ मिटर लामो तथा तीन मिटर उचाइको तटबन्ध निर्माण गरिएको हो। यही परियोजनाअन्तर्गत पाँचथर–ताप्लेजुङ सीमास्थित काबेली नदीमा समेत २०० मिटर लामो तटबन्ध निर्माण गरिएको उनले जानकारी दिए।
हेंवा खोलाले पछिल्ला तीन वर्षदेखि बहाव परिवर्तन गर्दै माझीटार क्षेत्रमा तीव्र कटान गरिरहेको थियो। यसबाट सयौँ रोपनी खेतीयोग्य जमिन, बस्ती, सिँचाइ तथा खानेपानीका स्रोत प्रभावित हुँदै आएका थिए। यही जोखिमलाई मध्यनजर गर्दै यस आर्थिक वर्षदेखि तटबन्ध निर्माणको काम अघि बढाइएको हिलिहाङ गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वीरेन्द्र मंग्रातीले बताए।
उनका अनुसार स्थानीय तहको स्रोतले मात्रै पर्याप्त नहुने भएकाले तटबन्ध विस्तारका लागि आगामी आर्थिक वर्ष २०८३–८४ मा पनि सङ्घीय सरकारबाट बजेट विनियोजन गराउने पहल भइरहेको छ। हाल निर्माण सम्पन्न भएको संरचनाले तत्कालका लागि राहत पुगे पनि दीर्घकालीन संरक्षणका लागि थप तटबन्ध आवश्यक रहेको उनको भनाइ छ।
स्थानीयवासीका अनुसार हेंवा खोलासँगै तमोर नदीको बहाव वस्तीतर्फ सोझिन थालेपछि माझीटार थप जोखिममा परेको छ। नेपाल माझी उत्थान सङ्घ पाँचथरका अध्यक्ष रामकुमार माझीले तटबन्ध निर्माणपछि मुख्य बस्तीको जोखिम केही घटेको बताए। स्थानीय माछाका परिकारका लागि परिचित पर्यटकीय माझीटारलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन तमोर नदीतर्फ पनि थप तटबन्ध निर्माण गर्न आवश्यक रहेको स्थानीयको माग छ।
