काठमाडौँ । अविरल वर्षासँगै सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि नागढुङ्गाबाट उपत्यकाबाहिरिने सवारीसाधन सञ्चालन अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको छ। नेपाल प्रहरीले यात्रु तथा चालकको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सडकखण्डमा सवारी आवागमन स्थगित गरिएको छ। साथै, फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकमा पनि जोखिमका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ। कुनै आपत्कालीन अवस्था आएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरिएको छ।
यता, केहीबेरअघि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा लगातार ढुङ्गा खस्न थालेको र सेती दोभान क्षेत्रमा लेदो बग्न थालेपछि उक्त सडक पनि दुवैतर्फबाट पूर्ण रूपमा बन्द गरिएको छ। सडक खुलाउने प्रयास भइरहे पनि वर्षा जारी रहेकाले जोखिम कायम रहेको जनाइएको छ।
देशका विभिन्न स्थानमा अझै वर्षा भइरहेकाले सडक यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा यात्रा अघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ। वर्षाका कारण देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै यातायात सेवा समेत अवरुद्ध हुँदै गएको छ।
