झापा। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले झापाको बुद्धशान्ति गाउँपालिकाका पाँच अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेकी छन्। जिल्ला भूमि समस्या समाधान समिति झापामार्फत वितरण गरिएको पुर्जाअनुसार केही जग्गा आवास प्रयोजनका लागि तथा केही कृषि प्रयोजनका लागि दर्ता गरिएको छ। पुर्जा प्राप्त गरेसँगै लाभग्राही परिवार कानुनी रूपमा सम्बन्धित जग्गाका स्वामित्वधारी बनेका छन्।
मन्त्री रावलले भूमि अधिकारबाट लामो समयसम्म वञ्चित नागरिकलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने सरकारको अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको बताएकी छन्। उनले वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई चरणबद्ध रूपमा जग्गाधनी पुर्जा वितरण गर्ने कार्य देशभर निरन्तर जारी रहेको उल्लेख गर्दै बाँकी योग्य लाभग्राहीलाई पनि यथाशीघ्र लालपुर्जा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेकी छन्।
मन्त्री रावलको नेतृत्वमा पछिल्ला महिनाहरूमा देशका विभिन्न जिल्लामा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको अभियानले तीव्रता पाएको छ। विभिन्न स्थानीय तहमा हजारौं परिवारले लालपुर्जा प्राप्त गरिसकेका छन् भने जिल्ला भूमि समस्या समाधान समितिमार्फत तथ्याङ्क संकलन, नापजाँच, प्रमाणीकरण र दर्ताको कामलाई पनि तीव्र बनाइएको मन्त्रालयले जनाएको छ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि खुसी व्यक्त गरेका छन्। उनीहरूले अब आफ्नो सम्पत्तिमाथि कानुनी अधिकार स्थापित भएको, बैंकिङ सेवा, ऋण सुविधा तथा अन्य सरकारी सेवामा पहुँच सहज हुने विश्वास व्यक्त गरेका छन्।
सरकारले भूमि सम्बन्धी दीर्घकालीन समस्या समाधान गर्दै वास्तविक लाभग्राहीलाई कानुनी स्वामित्व दिलाउने उद्देश्यका साथ देशभर जग्गाधनी पुर्जा वितरण अभियानलाई निरन्तरता दिएको छ। मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेका योग्य लाभग्राहीलाई आगामी दिनमा पनि क्रमिक रूपमा लालपुर्जा वितरण गरिने जनाएको छ।
