काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभामा उठाइएको विषयमा गठन गरिएको अध्ययन समितिले आफ्नो प्रतिवेदन सम्माननीय सभामुखसमक्ष बुझाएको जनाएको छ। सचिवालयद्वारा बुधबार जारी प्रेस विज्ञप्तिअनुसार प्रतिनिधि सभाको २०८३ जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिबारे सभामुखलाई प्राप्त जानकारी तथा जेठ १८ गते भएको छलफलका आधारमा आवश्यक अध्ययन गर्न सात दिनको समयसीमा दिई समिति गठन गरिएको थियो।
विज्ञप्तिअनुसार प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित उक्त समितिमा संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखाका प्रमुख सदस्य रहेका थिए। समितिलाई घटनाको अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको थियो।
सचिवालयका अनुसार समितिले २०८३ असार २५ गते सम्माननीय सभामुखसमक्ष अध्ययन प्रतिवेदन पेश गरिसकेको छ। सभामुखले प्रतिवेदन अध्ययन गरेपछि आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन दिइसकेको जानकारी पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
संघीय संसद सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीद्वारा जारी विज्ञप्तिमा प्रतिवेदनका आधारमा आवश्यक प्रक्रिया अगाडि बढाइने जनाइएको छ। सचिवालयले घटनाको अध्ययन सम्पन्न भई प्रतिवेदन प्राप्त भएको जानकारी सार्वजनिक गर्दै आगामी कार्यान्वयन प्रक्रिया सचिवालयमार्फत अघि बढ्ने स्पष्ट पारेको छ।
