काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले अधिकांश प्रतिवादीलाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाउँदै प्रतिवादीहरूलाई कसुरदार ठहर गरेको हो। दोषी ठहर भएका व्यक्तिहरूको सजाय निर्धारण भने आगामी पेशीमा गरिने अदालतले जनाएको छ।
यस प्रकरणमा २०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको थियो।
अभियोगपत्रअनुसार संगठित गिरोहले नक्कली कागजात तयार गरी नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा प्रस्तुत गर्दै तेस्रो मुलुक पठाइदिने प्रलोभनमा ठूलो रकम असुलेको आरोप छ। यस घटनामा प्रतिवादीहरूमाथि किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराध सम्बन्धी कसुर लगाइएको थियो।
मुद्दामा मुख्य बिचौलिया केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, सानु भण्डारी, सन्देश शर्मा, टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, राजेश अर्याल, विनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा तथा भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि प्रतिवादी बनाइएको थियो।
यो प्रकरणलाई नेपालमा हालसम्मकै चर्चित ठगी र संगठित अपराधका घटनामध्ये एक मानिएको छ। अदालतको पछिल्लो फैसलासँगै लामो समयदेखि विचाराधीन रहेको मुद्दाले महत्वपूर्ण मोड लिएको छ भने दोषी ठहर भएका प्रतिवादीहरूको सजाय आगामी सुनुवाइमार्फत निर्धारण गरिनेछ।
