काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मंगलटारस्थित इलाका प्रहरी कार्यालय मंगलटार अगाडिको चेकपोस्टमा गरिएको सवारी जाँचका क्रममा ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार असार २३ गते साँझ करिब ५ बजे प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले बर्दिबासबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३४ च ६५९४ नम्बरको इलेक्ट्रिक कार शङ्कास्पद देखिएपछि जाँच गरेको थियो।
जाँचका क्रममा कारमा सवार दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–७ निवासी २० वर्षीया रितु जैसीले कम्मरमा बाँधेको ज्याकेटको बायाँ गोजीबाट प्लास्टिकसहित ६०.०६ ग्राम तथा प्लास्टिकबाहेक ५६.७५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनापछि कारमा सवार पाँचै जनाको लागूऔषध तथा मादक पदार्थ सेवन परीक्षण गरिएको थियो। परीक्षणमा सविन कोइराला र जगत् खत्रीको रिपोर्ट पोजिटिभ आएको प्रहरीको भनाइ छ।
लागूऔषधसहित पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
